नेपाल सरकारद्वारा स्थानीय तह पुनर्संरचना अन्तर्गत स्थानीय तह निर्धारण तथा सिफारिस आयोग, २०७३ को सिफारिसका आधारमा वि.सं. २०७३ साल फागुन २७ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी देशभर ७५३ वटा स्थानीय तह तथा ओखलढुङ्गा जिल्लामा ८ वटा स्थानीय तह घोषणा गरिएको थियो। सोही क्रममा साविकका कटुञ्जे, च्यानम, मुलखर्क, सिस्नेरी र बलखु गरी पाँच वटा गाउँ विकास समितिलाई समेटी १० वटा वडासहित सुनकोशी गाउँपालिकाको गठन गरिएको हो। गाउँपालिका वि.सं. २०७३ साल असार २३ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो।
ओखलढुङ्गा जिल्लाको सदरमुकामबाट करिब ३४ किलोमिटर पश्चिममा अवस्थित सुनकोशी गाउँपालिका प्राकृतिक, कृषि तथा पर्यटनका दृष्टिले अत्यन्त सम्भावनायुक्त क्षेत्र हो। यहाँ कृषि उत्पादन, सिलिका (Quartz) तथा खरी ढुङ्गाजस्ता खनिज स्रोत, रमणीय डाँडाकाँडा, धार्मिक तथा पर्यटकीय गुम्बाहरू, हरियाली वन सम्पदा र प्राकृतिक सौन्दर्य प्रशस्त मात्रामा पाइन्छ। गाउँपालिकाको भू–बनोट बेँसी, खोँच र मध्यपहाडी क्षेत्रले बनेको हुँदा यहाँ विविध प्रकारको हावापानी पाइन्छ।
यस गाउँपालिकाको पूर्वमा सिद्धिचरण नगरपालिका, पश्चिममा चम्पादेवी गाउँपालिका, उत्तरमा मोलुङ गाउँपालिका तथा दक्षिणमा सिन्धुली जिल्लाको सीमा रहेको छ। विश्व मानचित्रअनुसार यो गाउँपालिका करिब २७°२८′३३″ उत्तरी अक्षांशदेखि ८६°३७′३९″ पूर्वी देशान्तरसम्म फैलिएको छ। समुद्री सतहबाट करिब ५०० मिटरदेखि २,५०० मिटर उचाइसम्म रहेको यस गाउँपालिकाको कुल क्षेत्रफल १४३.७५ वर्ग किलोमिटर रहेको छ। यहाँको औसत तापक्रम करिब ११ डिग्री सेल्सियसदेखि ३२ डिग्री सेल्सियससम्म रहने गर्दछ।
सुनकोशी गाउँपालिका सांस्कृतिक, धार्मिक तथा सामाजिक विविधताले सम्पन्न क्षेत्र हो। यहाँ बडादशैं, तिहार, चैते दशैं, साउने सङ्क्रान्ति, माघे सङ्क्रान्ति, ल्होसार, बुद्ध जयन्ती लगायतका चाडपर्वहरू हर्षोल्लासका साथ मनाइन्छन्। विभिन्न जातजातिका आफ्नै मौलिक कला, संस्कृति, भाषा, परम्परा र भेषभूषाले गाउँपालिकाको सांस्कृतिक पहिचानलाई अझ समृद्ध बनाएका छन्। यद्यपि आधुनिक शिक्षा, सूचना प्रविधि र विश्वव्यापीकरणको प्रभावका कारण युवा पुस्ता आधुनिक जीवनशैलीतर्फ आकर्षित हुँदै गएको अवस्था पनि देखिन्छ।
प्राकृतिक स्रोत-साधन, जैविक विविधता, कृषि, पर्यटन, सांस्कृतिक सम्पदा तथा सामाजिक सद्भावका दृष्टिले सुनकोशी गाउँपालिका कोशी प्रदेशको एक सम्भावनायुक्त स्थानीय तहका रूपमा स्थापित हुँदै गएको छ। दिगो विकास, सुशासन, गुणस्तरीय सेवा प्रवाह तथा समावेशी विकासमार्फत गाउँपालिकाले समृद्ध र आत्मनिर्भर स्थानीय समाज निर्माणतर्फ निरन्तर प्रयास गरिरहेको छ।